देउवा महाधिवेशन विवाद मिलाउन सक्रिय, नेतासँग भेटघाट तीव्र
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको महाधिवेशन सम्बन्धी विवाद मिलाउन सक्रिय भएका छन्। स्वास्थ्योपचारका लागि सिंगापुरमा १८ दिन बसेर शुक्रबार राति फर्केका देउवाले शनिबारदेखि पार्टी नेतासँग भेटघाट गरी विवाद समाधान प्रयास सुरु गरेका छन्।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएपछि देउवा अनौपचारिक रूपमा विवाद मिलाउन सक्रिय भएको एक नेताले जानकारी दिएका छन्। शनिबार बिहान कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशनसँग सम्बन्धित विवादका बारेमा देउवालाई जानकारी गराएका थिए।
देउवा निकट स्रोतका अनुसार त्यसपछि उनले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद लगायतका नेतासँग भेट गरेका छन्। स्रोतले बताए अनुसार देउवाले सकभर मिलाएर अगाडि बढ्न कार्यवाहक सभापति खड्कालाई सुझाव दिएका थिए र भेटेका नेताहरूलाई पनि मिलेर अगाडि बढ्ने वातावरण बनाउने निर्देशन दिएका थिए।
आइतबार देउवा संस्थापन पक्षका सात पूर्वपदाधिकारीसँग भेट्ने तयारीमा छन्। ती सात पूर्वपदाधिकारीमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र पार्टी प्रवक्ता डा. महत रहेका छन्।
पूर्वपदाधिकारीहरूले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताउँदै आएका छन्। अर्कोतर्फ, डा. शेखर कोइरालाको नेतृत्व समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह निर्वाचनअघि महाधिवेशन हुनुपर्ने पक्षमा छन्। यही विवादका कारण गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक अनिर्णित अवस्थामा छ।
शनिबार देउवाले मिलाएर अघि बढ्न सुझाव दिएका भए पनि, ललितपुरस्थित हिमालय होटलमा कार्यवाहक सभापति खड्काको संयोजकत्वमा भएको नेतासँगको भेटमा विवाद समाधान हुन सकेको छैन। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक र उपसभापति धनराज गुरुङ सहभागी थिए।