प्रधानमन्त्री कार्कीको आग्रह: आत्मविश्वासका साथ अघि बढ्नुस्
काठमाडौं, २२ कात्तिक —प्रधानमन्त्री सुशीला कार्कीले देशका उद्योगी, व्यवसायी, किसान र युवाहरूसँग आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्।
शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले डर र आशंकाबाट मुक्त भएर सहकार्यको बाटोमा अघि बढ्न आग्रह गरिन्।
उनले भनिन्, “म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्। अहिले भय होइन, हातेमालो गर्ने बेला हो।”
प्रधानमन्त्री कार्कीले विभिन्न अध्ययनहरूले नेपालको आर्थिक वृद्धिदर बढ्ने र मुद्रास्फीति घट्ने संकेत देखाएको बताउँदै सरकारको प्रयास सही दिशामा अघि बढिरहेको उल्लेख गरिन्।
उनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दिगो लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने अवसर हो। उनले भनिन्, “निर्वाचनमार्फत देशलाई दिगो लोकतान्त्रिक प्रक्रियामा अघि बढाउँदै, यहीँ नै रही काम गर्न सकिने आशा जगाउँदै सरकार वातावरण बनाउन प्रयत्नशील छ। निर्वाचन सफल र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहनेछ।”