नेविसंघले निर्वाचन तयारी र मतदाता समस्या आयोगमा उठायो
काठमाडौं, कात्तिक २८ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
संघका सभापति दुजाङ शेर्पा नेतृत्वको टोली शुक्रबार आयोगमा पुगेर निर्वाचन तयारी र मतदाता नामावली संकलन प्रणालीमा देखिएका प्राविधिक समस्याबारे सुझाव दिएका हुन्।
शेर्पाले युवा मतदातालाई बढीभन्दा बढी मतदानमा सहभागी गराउने, प्रवासमा रहेका नेपाली नागरिकको मतदान सुनिश्चित गर्ने र नाम दर्ता प्रक्रियामा देखिएका समस्या समाधान गर्न आयोगसँग छलफल भएको जानकारी दिएका छन्।
उनले नेविसंघको ध्यान सधैं स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पार्टीको साथमा रहने बताएको पनि प्रेस वार्ता मार्फत स्पष्ट पारे।
सरकारले आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन तोकेको छ भने आयोगले दल दर्ता प्रक्रिया पनि सुरु गरिसकेको छ।