डुम्रे भन्सार क्षेत्रमा २० किमी सडक कालोपत्रे
तनहुँको डुम्रे भन्सार क्षेत्रमा सञ्चालित नयाँ सहर आयोजना कार्यालयले स्थापनाकालदेखि हालसम्म २०.३ किलोमिटर सडक कालोपत्रे गरेको छ।
कार्यालय प्रमुख शान्ति शर्माका अनुसार, आयोजनाले ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर सडक ढलान र ४६.०२ किलोमिटर नाला निर्माण कार्य पूरा गरेको छ।
आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यपहाडी लोकमार्गको आसपास दश नयाँ सहर स्थापना गर्ने सरकारी नीतिअनुसार विसं २०७२/७३ बाट तनहुँको भानु र बन्दीपुरका साबिकका वडाहरू समेटेर यो आयोजना सुरु गरिएको हो।
आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर सडक ढलान, १.६ किलोमिटर सडक कालोपत्रे र ३.६२ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ। उक्त आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क र एक खानेपानी योजना सम्पन्न गरिएको छ भने ४३४ वटा सौर्य बत्ती जडान गरिएको छ।
कार्यालयले डुम्रे भन्सार क्षेत्रअन्तर्गत जग्गा एकीकरण (ल्यान्ड पुलिङ) आयोजनाको प्रक्रिया पनि अघि बढाएको छ। यसका लागि ६४३ रोपनी जग्गा पहिचान भइसकेको र बाटोको किल्ला तोक्ने कार्य सकिएको जनाइएको छ।
गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित रु १ करोड ५ लाखमध्ये रु ७५ लाख र पुँजीगततर्फ विनियोजित रु ११ करोड ७७ लाखमध्ये रु ४ करोड ७४ लाख खर्च भएको कार्यालयले जनाएको छ।