जेन-जी आन्दोलनको सर्वोच्च आगजनीमा पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ
१० मंसिर, काठमाडौं — गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल बुधबार पक्राउ परेका छन्।
ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता समेत हुन् र २०७९ मा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा ल क्याम्पस सभापतिमा विजयी भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो। उनलाई पहिले पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठको बयानका आधारमा समातिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार संकलित फोटो र भिडियो फुटेजबाट ढुंगेल सर्वोच्चमा आगजनीमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ। भिडियोमा उनी भिडलाई सर्वोच्च अदालत र न्यायाधीशहरू प्रति आक्रोशित देखाउँदै आगजनी गर्न उकासिरहेको सुन्न सकिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले ढुंगेललाई चितवनबाट पक्राउ गरिएको पुष्टि गर्दै उनलाई आपराधिक उपद्र्व मुद्दामा हिरासतमा राखिएको जानकारी दिए।
सर्वोच्च अदालतमा भएको आगजनीपछि काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको थियो, जसको क्रममा ढुंगेललाई पक्राउ गरिएको हो।