जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूमा विभाजन र एकताको लहर
काठमाडौँ । जेन–जी आन्दोलनपछि राजनीतिक परिस्थितिमा आमनिर्वाचन घोषणा भएसँगै मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ। पछिल्लो समय पुराना दल मात्रै होइन, वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरूमा पनि यो क्रम देखिन थालेको छ।
विशेषज्ञका अनुसार, दलहरूबीच विभाजन र एकताको घटनाक्रम वैचारिक आधारभन्दा तत्कालको परिस्थितिबाट फाइदा लिनको उद्देश्यले बढी प्रेरित भएको छ। भ्रष्टाचार र बेथिति अन्त्य जस्ता मुद्दामा आन्दोलनमा रहेका जेन–जीका प्रतिनिधिबीच पनि शासकीय स्वरुप, संविधान संशोधन र निर्वाचन प्रणालीमा मतैक्यता छैन।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीका केही नेताहरू अलग्गिएर नयाँ दल तथा राजनीतिक शक्ति निर्माणमा जुटेका छन्। यसैबीच १० भन्दा बढी वामपन्थी दल र केही चर्चित नेताहरू मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले यस घटनाक्रमलाई ‘निर्वाचन लक्षित कार्यक्रम’ भनेर व्याख्या गर्दै, ‘सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिँदैन, दलहरू परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले मात्र जुटेका छन्’ बताएका छन्।
अधिकारकर्मी डा. राधा पौडेलले भने, राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो भएको उल्लेख गर्दै, ‘आन्तरिक लोकतन्त्र कमजोर भएका कारण दलहरूमा आशा पुर्याउन नसक्दा टुटफुटको अवस्था देखिएको छ। मुलुकमा बेथितिको कारणबारे स्पष्ट एकरुपता नहुँदा उपचार र बिरामीबीच असन्तुलन जस्तो अवस्था बनेको छ’ उनले टिप्पणी गरे।
साथै, माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गर्ने सुदन किराँती, नेपाल समाजवादी पार्टीका संयोजक दुर्गा सोब र रास्वपा छाडेका सन्तोष परियारले मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने तयारीमा छन्। जेन–जीका एक अगुवा मिराज ढुङ्गानाले पनि नयाँ पार्टी गठन गर्दै विकास र सुशासनलाई प्राथमिकता बनाउने बताउँदै पत्रकार सम्मेलनको तयारी गरिरहेका छन्।