सांसद रहबर अन्सारीद्वारा संसद्मै आफैंमाथि मोसो दाग
जनकपुरधाम, २२ कात्तिक — नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले आज संसद् बैठकमा आफैंमाथि मोसो दलेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको विशेष बैठकको अन्त्यतिर बोल्ने क्रममा अन्सारीले दल र सांसदहरूको नैतिकता समाप्त भएको भन्दै तीव्र असन्तोष व्यक्त गरे।
सभामुख रामचन्द्र मण्डलले उनको माइक्रोफोन काटेपछि अन्सारीले रोषमा आएर संसद्मै आफैंमाथि मोसो दलेका हुन्। उनले भने, “अब यो संसद् र दलहरूको नैतिक धरातल सकिएको छ, लाज मान्नुपर्ने स्थिति आएको छ।”
घटनापछि सदन केहीबेर अवरुद्ध बनेको थियो। अन्सारीको उक्त कदमले मधेश प्रदेशसभामा हलचल मच्चिएको छ भने उनको यस्तो विरोध शैलीलाई कतिपय सांसदहरूले “अत्यधिक भावनात्मक कदम” भनेका छन्।
मुख्यमन्त्री सोनाले भने निर्धारित समयमा विश्वासको मत लिएका छन्।