‘फागुन २१ को निर्वाचन हनी–ट्र्यापिङको परिणाम’ : एमाले उपाध्यक्ष बादल
२९ कात्तिक, चितवन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्न लागेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको आरोप लगाएका छन्। एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभामा बोल्दै उनले भदौ २३ र २४ का घटनालाई वैधता दिन निर्वाचनको नाटक गरिँदै आएको दाबी गरे।
उपाध्यक्ष बादलका अनुसार निर्वाचनअघि ठूला र स्थापित दल तथा तिनका नेताहरूलाई फसाउने उद्देश्यले विभिन्न षड्यन्त्र रचिएको छ। संविधानले निषेध गरेको पात्रलाई विदेशीको ईशारामा प्रधानमन्त्री बनाएको दाबी गर्दै उनले स्थापित दलहरूलाई चुनावमा भाग लिन नरोके प्रधानमन्त्री र सरकार आफैँ विदेशी शक्तिद्वारा हटाइने परिस्थिति सिर्जना हुने बताए। उनका अनुसार जनताको सार्वभौम प्रतिनिधिसभा पुनर्स्थापना भएर नयाँ सरकार बनेपछि मात्र निर्वाचन वैध हुन्छ।
भदौ २३ र २४ का घटनालाई ‘कलर रिभोलुसन’ भन्दै उनले विदेशी शक्तिले नेपाललाई सैनिक अखडामा रूपान्तरण गर्ने रणनीतिअन्तर्गत नेपालका स्रोत–साधन कब्जा गर्ने तथा छिमेकी देशहरूमा पृथकतावादी गतिविधि चर्काउने लक्ष्य लिएको आरोप लगाए। यसै योजनाअन्तर्गत “बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू बनाउने प्रयास भइरहेको” टिप्पणी गरे।
बादलले प्रचण्ड र माधव नेपालसहित मिलेर बनाएको ‘नेपाली कम्युनिस्ट पार्टी’लाई १० कोठे टहरो भन्दै त्यसले उनीहरूको ओरालो यात्रालाई रोकेर राख्न नसक्ने दाबी गरे। उक्त टहराबाट फर्किन पार्टीले आह्वान गरेको र केही नेता फर्किन थालेको बताए।
उनले स्थापित दलहरू विभाजित रहँदा देश विदेशी शक्तिको खेल मैदान बन्ने चेतावनी दिँदै राष्ट्रिय स्वाधीनता र जनमतको रक्षा गर्न सबै शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे।