अनेरास्ववियु अध्यक्ष सुजन कडरिया पुनः जिम्मेवारीमा फर्किए
नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया पुनः जिम्मेवारीमा फर्किएका छन्। एमालेले सञ्चालन गरेको *घर फर्क अभियान*पछि आफूहरूका लागि जिम्मेवारीमा फर्किन सजिलो भएको अध्यक्ष डा. कडरियाले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका दिन गत भदौ २३ गते डा. कडरियाले पदबाट राजीनामा दिएका थिए। आन्दोलन साम्य भएपछि उनी जिम्मेवारीमा फर्कन खोजे पनि त्यतिबेला अखिलभित्रै विरोध भएको थियो। असन्तुष्ट पक्षले कडरियाको कार्यकक्षबाट नेमप्लेट हटाउनुका साथै जलाएको समेत थियो।
‘भदौ २३ को आन्दोलनमा ड्रेसमा विद्यार्थी ढलेको देखेर हामी अनेरास्ववियुका थुप्रै साथीहरूले राजीनामा दिएका थियौं र केहीले आफ्नो जिम्मेवारीमा फर्किसकेका पनि थियौं। संकटको समयमा पार्टीको मेरुदण्ड अनेरास्ववियुले पार्टीको साथ छोड्नु सजिलो थिएन, तर ढलिरहेको रगतले हामीलाई मर्माहत बनायो,’ कडरियाले भने।
उनले थपे, ‘भदौ २४ गतेको आन्दोलनमा घुसपैठ भएको विषयले हामीलाई संकटको समयमा संगठनलाई नेतृत्वविहीन बनाउन नहुने भन्ने देशभरिबाट सुझाव आएपछि, सामाजिक सञ्जालमार्फतै राजीनामा फिर्ता लिएका थियौं।’
अध्यक्ष कडरियाले पार्टी र आन्दोलन संकटपूर्ण अवस्थामा पुगेकाले अनेरास्ववियु छाडेकाहरूलाई पनि संगठनमा फर्कन आह्वान गरेका छन्।
डा. कडरिया गत जेठमा अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए। यसपटकदेखि अनेरास्ववियुमा ३२ वर्षे उमेर सीमा तोकिएको थियो। कडरियाले ७ मतको अन्तरले प्रतिस्पर्धी प्रकाश पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।