निर्वाचनमा केन्द्रित हुन पूर्वनिर्वाचन आयुक्त पोखरेलको सुझाव
काठमाडौं, २१ कात्तिक । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको मुख्य कार्यभार पाएको सरकारले अन्य दूरगामी महत्त्वका काममा हात नहाल्न सुझाव दिएका छन्। कान्तिपुरसँग कुरा गर्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकार विषम र असहज परिस्थितिमा बनेको भए पनि निर्वाचनमा केन्द्रित हुनुको विकल्प नभएको बताए।
हालै कार्की नेतृत्वको सरकारले राजदूत फिर्ता बोलाउने, कर छुट दिने र युरो थ्री मापदण्डका सवारी साधन आयात खुला गर्ने जस्ता निर्णय गरेपछि ती निर्णय विवादमा तानिएका बेला पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, “अहिलेको सरकारको मुख्य एजेन्डा निर्वाचन हो। अरु पनि दुई–तीन वटा एजेन्डा हुन सक्छन्, तर मूल एजेन्डा भने यही हो। त्यसैले दूरगामी महत्त्व वा विवादित विषयमा ध्यान दिनुहुँदैन।”
पूर्वआयुक्त पोखरेलका अनुसार आगामी निर्वाचनका लागि चारवटा पक्ष सबैभन्दा महत्त्वपूर्ण छन्। पहिलो, अनुकूल राजनीतिक वातावरण—“निर्वाचन पनि एउटा खेल हो, वातावरण तयार नहुँदासम्म खेल खेलाउन सकिँदैन,” उनले भने। दोस्रो, सुरक्षा चुनौती—“सुरक्षा संयन्त्र डिमोरलाइज्ड अवस्थामा छन्, उनीहरूको विश्वास पुनःस्थापना गर्नुपर्छ।” तेस्रो, जेन–जी आन्दोलनलगायतले उठाएका सुधारका मागहरूलाई सम्बोधन गर्नुपर्ने उनले औंल्याए। चौथो, समयको चुनौती—“राजनीतिक वातावरण सुरुमा अलमलमा थियो, तर पछिल्ला दिनमा सरकारले दलहरूसँग छलफल गरेर सहकार्यको ढोका खोलेको छ, यो प्रयास अझ घनिभूत हुनुपर्छ,” पोखरेलले भने।
उनले निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सबै राजनीतिक दल र राज्य संयन्त्रको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।