सेनालाई फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि तीन महिनाअघि परिचालन गर्ने निर्णय
काठमाडौँ – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन महिनाअघि नै सेनालाई फिल्डमा खटाउने तयारी गरिएको छ। कात्तिक ३० मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले जेनजी प्रदर्शनपछि उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेनाले निर्वाचन केन्द्रित पेट्रोलिङ गर्नुपर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार रक्षा मन्त्रालयमा पत्राचार भइसकेको छ।
यो पटकको निर्वाचनमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन हुने छन्। एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार ७९ हजार सेना, ७३ हजार प्रहरी, ३१ हजार सशस्त्र प्रहरी र २ हजार राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तेस्रो घेरामा खटिनेछन्। मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीको ढुवानी, महत्त्वपूर्ण प्रतिष्ठान तथा विमानस्थलको सुरक्षा, आपतकालीन उद्धार तथा विष्फोटक पदार्थ निष्क्रियकरणमा सेनाको भूमिका रहने छ।
सेनाले निर्वाचन पूर्वदेखि अपरेसन बेसबाट रणनीतिक बिन्दुमा पिकेट राख्ने, मतदानको दिन प्रत्येक मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूरीमा तैनाथ हुने र स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती सञ्चालन गर्ने योजना बनाएको छ। योजना अनुसार पार्टीभित्रको विवाद र बहिष्कार गर्ने समूहले उत्पन्न गर्न सक्ने झडपलाई समेत नियन्त्रण गर्न आवश्यक सुरक्षा रणनीति तय गरिएको छ।