मतदाता नामावली संकलनमा चाप, म्याद बढाउन प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौं। मतदाता नामावली संकलनमा देखिएको अत्यधिक उत्साह र चापलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई म्याद थप्न आग्रह गरेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री कार्कीले म्याद थप्नु आवश्यक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आयुक्त भण्डारीले पनि आयोग सकारात्मक रहेको र ५ दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन्। यसअनुसार आयोगले थप म्यादका लागि आवश्यक तयारी थालेको बताइएको छ।
राष्ट्रिय परिचयपत्रमा आधारित अनलाइन प्रणालीमार्फत मतदाता नाम दर्ता गर्ने व्यवस्था खुलाएपछि बिहीबारदेखि नै अत्यधिक चाप देखिएको थियो। सेवाग्राहीको उच्च भीडका कारण अनलाइन सिस्टममा केही प्राविधिक समस्या समेत उत्पन्न भएको जनाइएको छ।
प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्या समाधानका लागि पनि चासो व्यक्त गरेका छन्। आयुक्त भण्डारीले सम्बन्धित समस्या समाधान गर्दै प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।
यसअघि आयोगले कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो।