मुख्यमन्त्री सोनल विश्वासको मत संकटमा, माओवादीका दुई सांसदको विद्रोह
जनकपुरधाम, २२ कात्तिक — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलल विश्वासको मत पाउने संकटमा परेका छन्। सत्ता पक्षका ५४ जना सांसद प्रदेशसभामा उपस्थित रहे पनि नेकपा (माओवादी केन्द्र) का दुई सांसदले विद्रोह गरेपछि उनको सरकार अस्थिर बनेको हो।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ मत आवश्यक छ। तर मत विभाजन अघि नै विद्रोह र अनुपस्थितिका कारण सोनललाई बहुमत सुनिश्चित गर्न कठिन बनेको छ।
सत्तारूढ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीका ८, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले सोनललाई समर्थन गर्ने घोषणा गरिसकेको छ।
तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहँदा सत्तापक्षको गणित कमजोर देखिएको छ। साथै, माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला राईले सदनमै विद्रोह गर्दै मुख्यमन्त्रीविरुद्ध स्पष्ट असहमति जनाएका छन्।
विश्वासको मत प्रक्रिया सुरु भइसकेको थियो, तर संकट उत्पन्न भएपछि केही समयका लागि मत विभाजन रोकिएको छ।