प्रगतिशील राष्ट्रिय जागरण अभियानले असफल नेताहरू हटाउन निर्वाचनमार्फत आग्रह
काठमाडौं, २७ कात्तिक — जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय जागरण अभियानले असफल र नैतिकहीन नेताहरूलाई आगामी निर्वाचनमार्फत जरैदेखि उखेलेर फाल्नुपर्ने बताएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका नेता सुदन किरातीले देशको राजनीतिक पुनर्संरचनाका लागि यस्तो कदम आवश्यक रहेको बताए।
किरातीले भ्रष्टाचार र नेतातन्त्रविरुद्ध अभियान जनपरिचालन तयारीमा रहेको जानकारी दिँदै देश र विदेशमा रहेका प्रगतिशील अभियानमा जोडिन सबैलाई आग्रह गरे। कार्यक्रममा अभियानले सार्वजनिक गरेको ७ बुँदे आह्वानमा भ्रष्टाचारविरुद्ध विजय, सांस्कृतिक समानतामा आधारित समाज निर्माण, राजनीतिक पुनर्संरचना, सहिद तथा बेपत्ता योद्धाहरूको सपना पूरा, निर्वाचन सफल पार्ने, प्रगतिशील राष्ट्रिय अभियान समिति गठन, र जेनजी विद्रोहका मुद्दा कार्यान्वयन जस्ता प्रतिबद्धताहरू समावेश छन्।
अभियानले अहङ्कारी र असफल नेताहरूलाई सदाका लागि हटाउने र सुदृढ राष्ट्र तथा सभ्य नागरिक निर्माण गर्ने उद्देश्यका साथ राजनीतिक पुनर्संरचना अघि बढाउने बताएका छन्।