प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्री सरोज यादवको शपथ
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन्।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन्। संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेता भएकाले मधेस प्रदेशका नयाँ मुख्यमन्त्री बनेका हुन्।
शपथपछि यादवले भने, “मैले भर्खरै मुख्यमन्त्री पदको शपथ लिएँ। जनकपुरमा अवस्था सहज थिएन, विरोध प्रदर्शन भइरहेको थियो। त्यसैले शपथ कार्यक्रम सिन्धुलीमा राखिएको हो।”
विश्वासको मत नपाउने निश्चित भएपछि केही दिनअघि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। सोनलले प्रदेश प्रमुख भण्डारी ‘अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको’ दाबी गरेका छन्। तर, बिचैबाटै उनले यादवलाई शपथ गराएको आरोप सोनलको छ।