नेता शेखर कोइरालाले कांग्रेसभित्रको महाधिवेशन कार्यतालिका विषयमा गरे छलफल
काठमाडौं – नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले काठमाडौंस्थित आफ्नो सम्पर्क कार्यालय विशाल नगरमा पार्टीका जिल्ला सभापति र पूर्वसभापतिसँग पार्टीभित्र देखिएको विवाद र १५ औँ महाधिवेशनको कार्यतालिका विषयमा छलफल गरेका छन्।
गत मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६–१९ गतेसम्म, र सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७–३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए। ती कार्यतालिकाबारे समिति भित्र बहस भइरहेका बेला नेता कोइरालाले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका हुन्।
छलफलमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङसहित मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल र सिन्धुली सभापति उज्ज्वल बराल उपस्थित थिए। त्यस्तै, गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन र कास्कीका पूर्वसभापति यज्ञबहादुर थापाले पनि सहभागी भएका थिए।
भेलामा सहभागी अधिकांश सभापतिहरूले आगामी निर्वाचनको परिस्थितिलाई ध्यानमा राख्दै सहमतिपूर्ण वातावरणमा नियमित महाधिवेशन सञ्चालन गर्न सुझाव दिएका थिए। रुपन्देही सभापति रामकृष्ण खाँणका अनुसार सभापतिहरूले पुसभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा नेता कोइरालाले स्पष्ट धारणा राख्नुपर्ने बताए।
सभापतिहरूको सुझावअनुसार, महामन्त्री थापाले समिति अघि पेस गरेको कार्यतालिका अपूर्ण रहेको भन्दै सबै तहमा महाधिवेशन हुने सुनिश्चित कार्यतालिका ल्याउनुपर्ने माग उठाइएको थियो।