म्याग्दी–मुस्ताङ जोड्ने मालढुङ्गा–बेनी सडक मङ्सिर १ देखि २० गते बन्द
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको कामका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा सडक बन्द हुने भएको छ।
सडक स्तरोन्नति भइरहेको १३ किमी लामो खण्डमा कालोपत्रको काम धमाधम भइरहेको हुँदा सवारीसाधन आवतजावतले काममा समस्या हुने भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा बन्द गर्ने निर्णय गरिएको हो। बन्द समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ।
एम्बुलेन्स, बिरामी बोकेका सवारीसाधन तथा अत्यावश्यक विकास निर्माण सवारी बाहेकका सबै सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन्। मालढुङ्गा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
ठेकेदारको ढिलासुस्ती र आयोजनाको कमजोरीका कारण २०७७ साल चैत्रमा रु ५२ करोड ४६ लाखमा सम्झौता भएको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन। मालढुङ्गा–बेनी सडक विगतमा २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु भई २०५२ मा खुल्यो र २०६८ मा कालोपत्र गरिएको थियो। पछिल्लो समय सडक जीर्ण अवस्थामा पुगेको छ।
मालढुङ्गा–बेनी सडक म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दा मात्र नभई चीन–भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्ने महत्त्वपूर्ण मार्ग हो।