दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा कडा, सडकमा बाक्लो प्रहरी
२ मंसिर, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आशंकामा काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा सुरक्षा सतर्कता बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ। निर्देशनपछि सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
भक्तपुरस्थित निवासबाट सोमबार राति प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने चेतावनी दिएका थिए। त्यसपछि उपत्यकाभर सुरक्षा कडा निगरानी गरिएको हो।
प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए र तयारी पनि तीव्र थियो। तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
हाल प्रसाईंलाई भद्रकालीस्थित प्रहरी हिरासतमा राखिएको छ। आजै अदालतमा पेश गरी म्याद लिई अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।