मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि राजीनामा
२२ कात्तिक, जनकपुरधाम ।
विश्वासको मत नपाउने निश्चित भएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्। आज साँझ उनले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री सोनलले आजै बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर सदनको बहुमत सुनिश्चित नदेखिएपछि उनले बैठकमै राजीनामाको घोषणा गरेका हुन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक थियो। सत्ता गठबन्धनमा लोसपा (८), जसपा नेपाल (१८), जनमत (१३), नेकपा माओवादी केन्द्र (९) र एकीकृत समाजवादी (७) गरी जम्मा ५५ सांसदको समर्थन रहेको दाबी गरिएको थियो। तर, नेकपा माओवादी केन्द्रका दुई सांसद रहवर अन्सारी र माला राईले सदनमै विद्रोह गरेपछि सरकार अल्पमतमा परेको हो।
त्यसैगरी, संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहिन् भने जनमतबाट जनस्वराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह पनि सदनमा उपस्थित थिएनन्।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन निर्णय गरिसकेको भए पनि आन्तरिक असन्तुष्टि र अनुपस्थितिले सरकारको बहुमत ढल्यो।
राजीनामा पत्र बुझाएपछि अब प्रदेश प्रमुख सुवेदीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछिन्। प्रदेशमा फेरि सत्ता समीकरणमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ।