नेप्से परिसूचक २८ अंकले घट्यो, कारोबार रकम बढ्यो
काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.८९ अंक (१.०७ प्रतिशत) घटेर २६४७ अंकमा पुगेको छ। बजार सुरुमा बढेको देखिएको थियो र १२:४४ बजे नेप्से २६९१ अंकसम्म पुगेको थियो, तर त्यसपछि बिक्री पक्ष हावी भई अन्तिम समयसम्म परिसूचक ओरालो रह्यो। आज बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।
कुल ३९ कम्पनीको मूल्य बढ्दा २१६ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहका सूचक ओरालो रहे पनि उत्पादन तथा प्रशोधन समूहमा ०.७३ प्रतिशत वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल/पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहका सूचक क्रमशः १.०८, १.०९, ०.८३, ०.२९, १.३१, १.४८, १.२०, १.३०, ०.६९ र ०.५१ प्रतिशतले घटेका छन्।
आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरू सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक हुन्। सबैभन्दा धेरै मूल्य घटेको कम्पनी जोशी हाइड्रोपावर हो, जसको मूल्य ७.२९ प्रतिशतले घटेको छ। अन्य कम्पनीहरूमा हिमाल दोलखा हाइड्रोपावर ५.५९ प्रतिशत, स्वेतगंगा हाइड्रोपावर ५.०७ प्रतिशत र हिमालयन हाइड्रोपावर ४.९४ प्रतिशतले घटेका छन्। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।