मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : सात दलीय गठबन्धन धर्नामा
जनकपुरधाम, ३० कात्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किंदै गएपछि सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्नामा बसेका छन्। नेपाली काँग्रेससहित सात दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर प्रदर्शन गरेका हुन्।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै सांसदहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए। विवाद तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले २४ कात्तिकमा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव लाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ खुवाएपछि सुरु भएको हो।
सात दल निरन्तर विरोधमा रहेका छन्। मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन् भने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता पनि गरिसकेका छन्। विवाद हाल कायम रहेको छ।