सिमरामा जेन–जी प्रदर्शन उग्र, कर्फ्यू बेवास्ता हुँदै तनाव चर्कियो
बाराको सिमरा विमानस्थल तथा जीतपुर–सिमरा आसपास क्षेत्रमा जेन–जी युवाहरूको प्रदर्शन बिहीबार पनि उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। सम्भावित जनधनको क्षति रोक्न प्रशासकले दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू लागू गरे पनि यसको प्रभाव देखिएको छैन।
कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन चलिरहेपछि अवस्था तनावपूर्ण बनेको छ। प्रहरीले भिड नियन्त्रणका लागि ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ भने प्रदर्शनकारीले पनि व्यापक ढुंगामुढा गरेका छन्। घटनामा ४ जना जेन–जी सहभागी र ६ जना प्रहरी घाइते भएका छन्।
सिमरा चोकबाट विमानस्थलतर्फ अगाडि बढ्न खोजेको समूहलाई स्थानीयवासीले रोक्ने प्रयास गरेका थिए। तर उग्र भीडले सिमरा बजारस्थित प्रहरी बिटमा आगजनी गरेका छन्। त्यस्तै एमाले कार्यालयका सामान बाहिर निकालेर जलाइएको छ। प्रदर्शनकारीले एमाले कार्यकर्तालाई प्रहरीले ‘पक्राउन नचाहेको’ आरोप लगाउँदै विरोधलाई झनै आक्रामक बनाएका छन्।
उता, जेन–जी बाराका संयोजक भनिएका सम्राट उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले टेलिफोनमार्फत वार्तामा बोलाएका छन्। प्रशासनले संवादमार्फत तनाव न्यूनिकरण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।