कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा महाधिवेशनको मिति र स्थान तोक्न माग
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । विशेष महाधिवेशनको हस्ताक्षर अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेले बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका हुन् ।
घिमिरेको नेतृत्वमा सङ्कलन भएका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । घिमिरेले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा नीति–पुनरावलोकन, संरचनागत परिमार्जन र नेतृत्व परिवर्तनका लागि पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा घिमिरेले विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान पार्टी नेतृत्वको ‘बाध्यकारी दायित्व’ भएको बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने ५५ प्रतिशत प्रतिनिधिको प्राथमिकता निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने रहेको घिमिरेले बताए ।
‘यदि १५ औँ महाधिवेशन समयमा गर्न नसकिने हो भने सोही समयमा विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय होस् भन्ने हाम्रो माग थियो,’ घिमिरेले भने । पत्रकार सम्मेलनमा फागुन २१ का लागि घोषित आम निर्वाचनअघि नै कांग्रेसले नयाँ नेतृत्व निर्वाचित गरिसक्नुपर्ने बताइयो ।