रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टको राजीनामा, ‘पार्टी छोडेको होइन
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। तर उनले पार्टी नछोडेको स्पष्ट गर्दै कामको व्यस्तताका कारण सभापतिको जिम्मेवारीबाट मात्र हटिएको बताए।
नेपाल प्रेससँग कुरा गर्दै विष्टले भने, “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ।”
राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए। बैठकमा सहभागीहरूले राजीनामा नदिन दबाब दिए पनि उनले धेरै सोचविचारपछि राजीनामा दिने निर्णय गरेको बताए।
विष्टले पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाइसकेका छन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाका तर्फबाट उम्मेदवार रहेका थिए।