निर्वाचन आयोगले चुनाव सामग्रीको तयारी सुरु, ७९ प्रकारका वस्तुको सूची तयार
काठमाडौं — निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ७९ प्रकारका निर्वाचन सामग्रीको सूची तयार पारेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीयस्तरमै उपलब्ध सामग्री र आयात गर्नुपर्ने सामग्रीको जोहो भइरहेको जानकारी दिएका छन्।
भण्डारीका अनुसार, आवश्यक सामग्रीमा मतपेटिका, मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड, कागज, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, निर्वाचन सम्बन्धी ऐन–नियम–निर्देशिका, मतदान कक्षको छेकवारा, फारम लगायत समावेश छन्।
उनले भने, “७९ मध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ, बाँकी स्थानीयस्तरमै उपलब्ध वस्तु प्रयोग गर्नेछौँ। मतपत्र छपाइका लागि आवश्यक कागज र मतपेटिका आयोगसँग पर्याप्त स्टकमा छन्।”
सन् २०७९ को निर्वाचनमा कोरोना संक्रमणको कारण ९४ प्रकारका सामग्री प्रयोग गरिएको थियो भने यसपालि सुरक्षा सामग्री घटाइएको छ। आयोगले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र केही मात्र विदेशबाट खरिद गर्ने तयारी गरेको भण्डारीले बताए।
मतदाता नामावली संकलन कार्य राष्ट्रपतिद्वारा अध्यादेशमार्फत कात्तिक मसान्तसम्म गरिने व्यवस्था छ। आयोगले अब आवश्यक सामग्रीको खरिद प्रक्रिया सुरु गर्दै व्यवस्थापनमा जुट्नेछ।