मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा
जनकपुरधाम, २२ कात्तिक — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका छन्।
सोनलले विश्वासको मतका लागि समय लिएका थिए, तर बहुमत पाउन नसकेपछि अन्ततः राजीनामा दिने निर्णय गरेका हुन्। उनले आफ्नो राजीनामा आजै प्रदेश प्रमुखको कार्यालयमा पेश गर्ने जानकारी पनि दिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन्। १०७ सदस्यीय प्रदेशसभामा सरकारको लागि ५४ मत आवश्यक रहेको थियो।
मधेश प्रदेशमा सत्ता गठबन्धनमा लोसपा ८, जसपा नेपाल १८, जनमत १३, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ सिटमा छन्। नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित थिइन्।
माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी र माला राईले सदनमै विद्रोह गरेका कारण सोनलको बहुमत सुनिश्चित हुन सकेन र त्यसपछि उनले राजीनामा घोषणा गरेका हुन्।