राजनीतिक संकट समाधानमा राष्ट्रिय सहकार्यको कांग्रेसको आह्वान
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुलुक गम्भीर तथा अभूतपूर्व राजनीतिक संकटमा फसेको निष्कर्ष निकाल्दै सबै पक्षले सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ।
शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विगतका राष्ट्रिय संकटहरूलाई समाधान गरेको अनुभवका आधारमा अहिलेको परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनअधिकारको सुरक्षा तथा संविधानको कार्यान्वयन सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीबीच संवाद र समझदारी आवश्यक रहेको निर्णय गरेको हो।
कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीलगायत घटनाको सत्यतथ्यसहित निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्ति दिन पुनः माग दोहोर्याएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार र सामग्री फिर्ता गराउन, कारागारबाट भागेका कैदीलाई नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाको शीघ्र पुनर्निर्माण गरी शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन पनि सरकारलाई आग्रह गरिएको छ।
कांग्रेसले २४ भदौका घटनामा व्यवसायिक क्षति व्यहोर्नु परेका व्यापारी तथा साना व्यवसायीलाई क्षतिपूर्ति व्यवस्था गर्न र सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न माग गरेको छ। जेनजी पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकसम्बन्धी माग स्वाभाविक तथा वैध भएको उल्लेख गर्दै कांग्रेसले ती माग पूरा गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। बैठकले आन्दोलनमा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ।
साथै, कांग्रेसले २८ असोजमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको लिखित मन्तव्यलाई अनुमोदन गर्दै देउवादम्पतीको स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ।