गृहमन्त्री अर्यालको आदेश: जनभावनाअनुरूप सेवा प्रवाह
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले मातहतका निकायलाई नवपुस्ताको जनभावना ध्यानमा राखी काम गर्न तथा उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
आइतबार गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीलाई एक्टिभिस्टको भावना बोकी काम गर्न तथा निर्वाचन तयारीलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे।
उनले भने, “अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार हो। पुरानै संरचना र ऐन–नियममा मात्रै अडिएर होइन, प्रविधिको उपयोग गर्दै चुनावलाई अझ सहभागीमूलक बनाउनु छ। जनताले आफ्नो मताधिकार सुरक्षित अनुभव गर्ने वातावरण बुझाउनुपर्ने जिम्मेवारी तपाईँहरूको हो।”
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूको सेवा प्रवाह जनमुखी र प्रभावकारी बनाउन निर्देशन दिए।
उनले थपे, “कर्मचारीहरूले जनसरोकारका विषयमा चासो राख्नुपर्छ। सेवाग्राहीको ठाउँमै पुगेर काम गर्नुपर्छ र परिवर्तनको अनुभूति दिलाउनुपर्छ।”
मन्त्रालयमा स्थापना गरिएको जेन–जी समन्वय समितिलाई अधिक सक्रिय बनाउँदै पीडितका गुनासा सुनी समाधान गर्न सकिएको खण्डमा मात्र बाहिर फैलिने भ्रमपूर्ण भाष्य चिर्न सकिने उनले बताए।
मन्त्री अर्यालले जेन–जी आन्दोलनका घाइतेहरूको राहत कार्यविधि छिट्टै टुंग्याउने तथा राहत कार्ड फिल्डमै वितरण गर्न आदेश पनि दिए।
बैठकमा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय र मातहतका कर्मचारीको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए। उनले राष्ट्रिय परिचयपत्र, सशस्त्र प्रहरी लगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको तथा नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार भदौ २३ गतेको घटनापछिको सुधार अभियानले मन्त्रालयको कार्यशैलीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।
बैठकमा विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आफ्नो क्षेत्रका प्रगति तथा वस्तुस्थितिबारे जानकारी गराएका थिए।