पूर्वराष्ट्रपति यादवः २४ भदौको घटना प्रतिगामी र नेताहरूको कमजोरीले भएको
२ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको विध्वंस घटनालाई प्रतिगामी र सुनियोजित भएको टिप्पणी गरेका छन्।
अनलाइनखबरसँगको अन्तर्वार्तामा यादवले भने, “२४ भदौको घटना नेताहरूको कमजोरीका कारण भयो। २३ भदौमा १९ युवाको ज्यान गयो, तर त्यसबारे राज्यलाई जानकारी राखिएको देखिएन। जेनजी आन्दोलनलाई हल्का ढंगले लिइयो, यो एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो।”
उनले जेनजीका युवाहरूले सुशासन, रोजगारी, बेथिति अन्त्य र सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू राखेको र ती माग जायज रहेको उल्लेख गरे। यादवले दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति र राष्ट्रिय धरोहरमाथि आक्रमण प्रतिगामी र सुनियोजित भएको बताउँदै, त्यसमा राज्य बेखबर भएको र सरकार चलाउनेहरूको दोष रहेको बताएका छन्।
पूर्वराष्ट्रपति यादवसँगको विस्तृत अन्तर्वार्ता आज प्रकाशन हुने जनाइएको छ।