उज्यालो नेपालसहित तीन पार्टी मर्ज, फागुन २१ का लागि तयारी
काठमाडौँ — कुलमान घिसिङसँग सम्बन्धित भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणमा जुटेका छन्। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल आगामी निर्वाचनको तयारीमा मर्ज हुने गृहकार्यमा लागेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले मंगलबार कुलमान घिसिङसहितको बैठक बसेर एकताको अन्तिम तयारीमा लागेको जानकारी दिए। उनका अनुसार, तीन पार्टी फागुन २१ गतेको निर्वाचनमा एउटै चुनाव चिह्नमा भाग लिन मर्ज हुने दिशामा अघि बढेका छन्।
चौधरीले भने, “केही प्राविधिक विषय मिलाएर छिट्टै एकताको मिति घोषणा गर्नेछौँ।” उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता चौधरी) र हाम्रो पार्टी नेपाल (अध्यक्ष खगेन्द्र सुनार) बीचको यो एकता आगामी निर्वाचनमा नयाँ राजनीतिक गठबन्धनको संकेतको रुपमा देखिएको छ।