ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीको क्षति
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति आगलागी हुँदा चार घर पूर्ण रूपमा नष्ट भएका छन्। प्रारम्भिक मूल्याङ्कन अनुसार करिब एक करोड १८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार आगलागीबाट इन्द्रकुमार लिम्बूको ४३ लाख, राजकुमार लिम्बूको ५० लाख, अनिल लिम्बूको २० लाख र विष्णुप्रसाद लिम्बूको पाँच लाख बराबरको क्षति भएको छ। साथै, घरमा बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची, दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्न तथा आवश्यक कागजातहरू जलेर नष्ट भएका छन्।
स्थानीयले बताएअनुसार रातिको समय भएकाले सामग्री निकाल्न नसक्दा र दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको हो। आगो बिहान ५:३० बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुमानअनुसार पार्किङमा राखिएको मोटरसाइकलबाट आगो सुरु भएको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।