नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं उडान बढायो, बिरामीको यात्रा सहज
काठमाडौँ, कात्तिक २८ – नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान साप्ताहिक दुईवटा बाट चारवटा गराएपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीहरू बाह्य अस्पताल पुग्न सहज भएका छन्।
यसअघि उडान कम भएकोले बिरामीलाई बाह्य अस्पताल लैजान समस्या भइरहेको थियो। अकस्मीक अवस्थामा हेलिकोप्टरको विकल्प प्रयोग गर्नुपर्ने र ठूलो आर्थिक भार पर्ने अवस्था पनि सिर्जना भएको थियो। तर अब उडान थप भएपछि बिरामीहरूले कम लागतमा काठमाडौँ लगायतका अस्पताल पुगेर उपचार पाउन सक्ने वातावरण बनेको छ।
भोजपुर शाखा प्रमुख प्रकाश खड्काका अनुसार नयाँ तालिका अनुसार उडान मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित हुनेछन्। प्राविधिक कारणले अघिल्लो तालिकामा जहाजमा समस्या हुँदा उडान सीमित थिए। निगमले अनलाइन टिकट खरिदको सुविधा पनि प्रदान गरेको छ।
भोजपुरमा हालसम्म नेपाल वायु सेवा निगमकै जहाजमार्फत मात्रै उडान भइरहेको छ। जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीहरू अब काठमाडौँ, विराटनगर, धरानलगायत अस्पतालसम्म सजिलै पुग्न सक्ने भएका छन्।