गोरखामा ७,७८५ नयाँ मतदाता थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखामा ७ हजार ७८५ नयाँ मतदाता थपिएका छन्। मतदाता नामावली दर्ताको अन्तिम दिन शुक्रबारसम्म यो संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सरकारले निर्वाचन मिति घोषणा गरेसँगै असोज दोस्रो सातादेखि मतदाता नामावली दर्ता सुरु गरिएको थियो। सुरुमा कात्तिक मसान्तसम्म तोकिएको म्याद माग बढेपछि मंसिर ५ गतेसम्म विस्तार गरिएको थियो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार कार्यालयमार्फत एक हजार ५५० जनाले दर्ता गराएका छन्, जसमा ९०८ पुरुष र ५९४ महिला छन्। यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्र प्रयोग गरी नामावलीमा नाम दर्ता गराएको जानकारी उनले दिए।
दर्ता भएका सबैलाई आगामी निर्वाचनका लागि योग्य मतदाता को–को हुने भन्ने छुट्याउन केही समय लाग्ने सुवेदीले बताए। उनका अनुसार यसपटक विशेषगरी युवाहरूको सहभागिता उल्लेख्य रहेको छ। दर्ता संख्या बढेसँगै गोरखामा कुल मतदाता संख्या २ लाख २९ हजार ७६६ पुगेको छ।
यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा २ लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए।