सोलु हाइड्रोपावरको आईपीओ आइतबारदेखि खुल्यो
काठमाडौं – सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई आईपीओ खुलाइएको छ भने यी समूहमा सेयर बाँडफाँटपछि मात्र आम सर्वसाधारणका लागि निष्कासन हुनेछ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।
जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ। सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, अन्य वडाका बासिन्दालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ। वैदेशिक रोजगारमा रहेका लगानीकर्तालाई १० लाख कित्ता सेयर आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यक्तिले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। सेयर आवेदनको अवधि प्रभावितका लागि मंसिर २१ सम्म र वैदेशिक रोजगारमा रहेका लागि मंसिर १० सम्म खुल्नेछ।
आयोजना सोलुखुम्बु जिल्लामा तल्लो सोलु जलविद्युत् आयोजना अन्तर्गत ८२ मेगावाट क्षमतामा निर्माण गरिएको छ। यस आयोजना रन अफ रिभर प्रकृतिको उत्पादनमा आधारित छ। कम्पनीका अनुसार आयोजना पूरा भइसकेको र व्यापारिक उत्पादन सुरु भइसकेको छ। कुल लागत ब्याजसहित १६ अर्ब ३० करोड रुपैयाँ रहेको यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा रहेको छ भने नेटवर्थ १०० रुपैयाँ छ।
कम्पनीले ८ अर्ब रुपैयाँ सेयर पूँजीबाट जुटाउने लक्ष्य राखेको छ भने हाल कम्पनीको ऋण १० अर्ब ६० करोड रुपैयाँ छ। इक्रा नेपालबाट बीबी प्लस रेटिङ प्राप्त गरेको कम्पनीले मध्यम स्तरको दायित्व बहन क्षमता देखाएको छ। आयोजनाबाट साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ६.७८ वर्ष रहेको छ। प्रमुख संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाई, रामचन्द्र सांघाई, विरेन्द्रकुमार सांघाई, आदित्य सांघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, सुभाषचन्द्र सांघाई, हर्षबर्दन सांघाई, निकुञ्ज अग्रवाल रहेका छन्।