गृहमन्त्रीमाथि ‘दुर्बलता’ देखाएको आरोप, हामी नेपाली अभियानका संयोजक सुदन गुरुङको आक्रोश
काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि कडा आक्रोश प्रकट गरेका छन् । समाजमा काटमार र भड्काउने अभिव्यक्ति दिने, शक्तिको मातमा खुलेआम चुनौती दिने व्यक्तिहरूलाई सरकारले छुनै नसकेको आरोप उनले लगाएका छन्। गुरुङका अनुसार सरकार ‘सानालाई ऐन र ठुलालाई चैन’ को व्यवहार गर्दै शान्तिपूर्ण विरोध गर्ने युवामाथि गोली चलाउनेलाई समेत उन्मुक्ति दिँदै बसेको छ।
गुरुङले फेसबुकमार्फत भनेका छन्, ‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन्। गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने आँट देखिएन।’
उनले गृहमन्त्री अर्यालसँग प्रश्न गर्दै भनेका छन्, ‘आफूलाई संविधानविद् भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखिएको छ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेकोमा के फरक भयो?’
गुरुङले शक्तिशाली व्यक्तिहरू खुलेआम ‘लोप्पा खुवाउँदै हिँडिरहेको’ आरोप लगाउँदै गृहमन्त्री त्यसलाई स्वीकार्दै कुर्सीमा टाँसिएर बस्नु उचित नहुने टिप्पणी गरेका छन्। साथै उनले मृतक र घाइतेको न्यायपूर्ण सम्बोधन, सबैलाई समान न्यायको प्रत्याभूति भए मात्र चुनाव सम्भव हुने दाबी दोहोर्याएका छन्।