जेन-जी प्रदर्शनमा संलग्न आपराधिक व्यक्तिहरू पहिचान गर्न प्रहरी सक्रिय
कास्की, गण्डकी प्रदेश । भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटसम्बन्धी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ।
प्रहरीले सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संलग्न व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउन आम नागरिकलाई आग्रह गरेको छ। प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, सूचना दिने व्यक्ति–संस्थाको गोपनीयता पूर्ण रूपमा कायम राखिनेछ।
बस्नेतले भने, “आन्दोलनका नाममा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरू खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ। अहिलेसम्म ३८ जनालाई पक्राउ गरिसकेको छ र उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान जारी छ।”
प्रदर्शनका क्रममा लुटिएका केही हतियारसमेत प्रहरीले बरामद गरेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
जाँचअनुसार, कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा गरी सात जिल्लामा सरकारी तथा निजी संरचनामा झन्डै रु पाँच अर्ब बराबरको क्षति पुगेको छ। प्रदेशभित्र तीन सय ६१ वटा दुई पाङ्ग्रे र एक सय ६१ वटा चार पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको छ भने केही सवारीसाधन हराएका छन्।
प्रदर्शनका क्रममा तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जना बढी घाइते भएका थिए।