जेनजीको नाममा अवरोध भए प्रतिरोध हुन्छ’ — एमाले नेता बस्नेत
काठमाडौं — एमाले नेता महेश बस्नेतले जेनजीका नाममा आफ्ना गतिविधिमा अवरोध भइरहेमा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
उनले वास्तविक जेनजीका माग एमालेले नै सम्बोधन गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते तथा ‘शहीद’लाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक भएको पनि बताए। ‘जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छ,’ बस्नेतले भने, ‘हामी जेनजीहरूसँग सम्पर्कमै छौं। तर उनीहरूको नाम र ब्यानर भजाएर अन्य तत्वहरू सक्रिय छन्।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ‘युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड घोषणा गर्ने तयारी गरेका छन्। बस्नेतका अनुसार पालिका, वडा र टोलटोलमा सुरक्षाका लागि फोर्स गठन गरिनेछ। उनले पेशागत संस्थासँग पनि सहकार्य गरिने उल्लेख गर्दै, ‘अब राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं,’ भने।