मुख्यमन्त्री सोनलले शनिबार विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल आगामी शनिबार (कात्तिक २२) विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले आज (बुधबार) मधेश प्रदेश सभामा पत्र पठाएर व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
सोनलले संविधानको धारा १६८, उपधारा (४) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत पाएपछि उनले मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता साझेदार दलहरूसँग सहमति गर्ने भएका छन्। सत्तारूढ दलहरूले विश्वासको मतका लागि **नेपाली कांग्रेस र नेकपा (एमाले)**सँग पनि सहयोगको आग्रह गर्ने तयारी गरेका छन्।
सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। प्रारम्भिक ५६ मतमध्ये जनमत पार्टीका १३ सांसद थिए। तर, हाल जनमत पार्टीबाट दुई सांसद जनस्वराज पार्टीमा गएका छन् भने, जनता समाजवादी पार्टी (जसपा)का सांसद सरोज सिंह कुशवाहा निलम्बित भइसकेका छन्। त्यसैले प्रारम्भिक ५६ मतमध्ये यी तीन मत अब सोनलले पाउने सम्भावना छैन।
यद्यपि हाल नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने भएका छन्। दुबै पार्टीको प्रदेशसभामा एक–एक सांसद रहेका छन्। यी दुईको समर्थनसँगै सोनल सरकारको मत संख्या ५५ पुग्ने देखिन्छ।