विप्लव, जनार्दन शर्मा र घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति
२१ कात्तिक, काठमाडौं – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी छाडेका घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति बनेको छ।
शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लवको निवासमा भएको भेटपछि तीन नेताले मुलुकको राजनीतिक अन्योल समाधान गर्न सहकार्य अघि बढाउने निर्णय गरेका हुन्। भेटमा देशको पछिल्लो राजनीतिक अवस्था, वाम दलहरूबीचको सहकार्य र सम्भावित राजनीतिक विकल्पबारे विस्तृत छलफल भएको बताइएको छ।
बैठकपछि नेता भूसालले भने, “हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं। मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दै जानेछौं।”
उनले सहकार्यलाई एकता भन्ने भ्रम नपोष्ण आग्रह गर्दै भने, “हामी एकताबद्ध भएर जानेछौं, तर एकीकरण भन्ने भ्रम पाल्न नहुने।”
तीन नेताहरूले आजै संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरेका छन्।
हालै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता प्रक्रियाले तीव्रता पाएको बेला जनार्दन शर्मा र घनश्याम भूसाल अलग भएर आफ्ना छुट्टै अभियान सञ्चालन गरिरहेका छन्। शर्माले *‘प्रगतिशील अभियान नेपाल’* नामक समूह गठन गरी युवामुखी अभियान सुरु गरेका छन् भने भूसालले समाजवादी एकता प्रक्रियाबाट बाहिरिएकाहरूसँग नयाँ राजनीतिक अभियान अघि बढाउने तयारी गरेका छन्।
यसअघि विप्लवले पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनसभामार्फत सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता औंल्याएका थिए।