मधेश मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेज माग रिट संयुक्त इजलासमा
२६ कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा पुगेको छ।
मंगलबार मधेशका सात दलका ७४ सांसदले यादवको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो। संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ।
रिट दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका युवराज भट्टराई, र लोसपाका जयलुन राइनलगायत छन्।
यसअघि सर्वोच्चले मुख्यमन्त्री यादवलाई ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न’ आदेश दिएको थियो।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर, सो नियुक्ति प्रक्रियामा विवाद चर्किएपछि सरकारले भण्डारीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको हो।