सिमरामा जेनजी युवासँग औपचारिक वार्ता आवश्यक नपरेको बारा प्रशासनको निष्कर्ष
काठमाडौं — बाराको सिमरामा दुई दिनदेखि विरोध प्रदर्शन गरिरहेका जेनजी युवालाई जिल्ला प्रशासन कार्यालयले वार्तामा बोलाएको घोषणा गरेपछि शुक्रबार भने प्रशासनले सो आह्वानबाट पछि हटेको छ। बिहीबार मात्र प्रशासनले औपचारिक वार्ताका लागि प्रदर्शनकारीलाई आमन्त्रण गरेको थियो।
तर शुक्रबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य माग पूरा भइसकेकाले अब औपचारिक वार्ताको आवश्यकता नरहेको बताए। ‘छलफलका लागि जिल्ला प्रशासनको ढोका सधैं खुला छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार प्रशासनले गर्नुपर्ने काम भइरहेको र जाहेरी परेकामध्ये दोषीहरूलाई पक्राउ गरिने प्रक्रिया अघि बढेकाले वार्ता गर्नुपर्ने अवस्था नसकेको निष्कर्षमा पुगेका छन्।
बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवामाथि कुटपिट गरेको घटनापछि तनाव सुरु भएको थियो। कर्फ्यू अवज्ञा गर्दै युवाहरूले बुधबार र बिहीबार वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेपछि क्षेत्र दुई दिनदेखि तनावग्रस्त बनेको छ।