‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया सुरु, पार्टीभित्र सुधार तथा पहिचान मजबुतीमा जोड
काठमाडौँ ।
नेपाली कांग्रेसको आन्तरिक कमजोरी पहिचान गर्दै पार्टीको मूल विचारधारालाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ कांग्रेस’ नामक अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। शनिबार राजधानीमा प्रारम्भ गरिएको यो कार्यक्रम पार्टीको राजनीतिक दिशा, संरचनागत चुनौती, निर्णय प्रक्रियाको पारदर्शिता र संगठन सुदृढीकरणका उपायमा केन्द्रित छ।
कार्यक्रममा युवा नेता सचिन तिमल्सिनाले कांग्रेसले पाएको २८ लाख मत मध्ये औपचारिक सदस्य केवल ९ लाख मात्रै रहेको उल्लेख गर्दै बाँकी मतदातालाई ‘शुभेच्छुक’को हैसियतमा सुन्ने र सम्बोधन गर्ने आवश्यकता बलियो रहेको बताए। उनले पार्टीभित्र संरचनागत कमजोरी, टिकट वितरणमा देखिने अस्पष्टता तथा एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिबन्ध प्रस्तावलाई समर्थन गर्ने प्रवृत्ति कांग्रेसको आधारभूत मूल्यविपरीत रहेको भन्दै आलोचना गरे।
अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सयभन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा अन्तरक्रिया सञ्चालन भएको जानकारी दिए। डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता तथा फिल्मकर्मी जस्ता विभिन्न पेसाका व्यक्तिहरूले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुलेर बहस गरेको उनले बताए। यस्तो बहसले पार्टीको वैचारिक स्पष्टता र पहिचान मजबुत हुने विश्वास उनले व्यक्त गरे।
स्व. प्रदीप गिरी संस्थानले अन्तरक्रियाबाट प्राप्त सुझाव, विश्लेषण तथा निष्कर्षलाई संयोजन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने तयारी गरेको छ। यो प्रतिवेदनले पार्टीको नीतिगत दिशा, संगठनात्मक सुधार र भविष्यको कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।