मधेश प्रदेशमा बढ्दो राजनीतिक अस्थिरताप्रति प्रदेश प्रमुख लाभको चिन्ता
२८ कात्तिक, जनकपुरधाम। मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेशमा हाल देखिएको राजनीतिक अस्थिरताबाट समग्र राजनीतिक, सामाजिक, आर्थिक तथा प्रशासनिक गतिविधि प्रभावित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिहीबार पदभार ग्रहण गरेका प्रदेश प्रमुख लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै राजनीतिक पक्षलाई सहकार्य, संयमता र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार समाज सधैँ गतिशील रहने भए पनि आरोह–अवरोहका बीच अनुशासन, संयमता र स्थिरतासहित अघि बढ्न आवश्यक छ।
विज्ञप्तिमा उनले भनेका छन्, “प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कार्यसमेत प्रभावित भइसकेको छ। त्यसैले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै एक–अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु।”
प्रदेश प्रमुख लाभले मधेश प्रदेशले संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संघीयताको सम्वर्द्धनमा यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारको विशेष दायित्व रहेको बताए।
उनले मधेशको सुशासन, शिक्षा, स्वास्थ्य र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न समस्त राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजीवी तथा प्रदेशका कर्मचारीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
विज्ञप्तिमा उल्लेख छ, “समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सहकार्य, समन्वय र संवाद अनिवार्य छ। मधेश प्रदेशको प्रगतिका महाअभियानमा सबैले हातेमालो गर्नुपर्छ।”