गैरकानुनी विद्युत् सम्झौताः घिसिङ–सिलवालको बर्खास्ती माग
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई गैरकानुनी विद्युत् खरिद सम्झौतामा संलग्न भएको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ। मंगलबार जारी प्रेस वक्तव्यमा मुभमेन्टले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणबीच भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको अवैध सम्झौता भएको दाबी गरेको छ। मुभमेन्टले यो सम्झौतालाई ‘राष्ट्रघाती र भ्रष्टाचारपूर्ण’ भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
वक्तव्यमा चार बुँदे माग राखिएको छ। यस अनुसार, ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न, प्राधिकरण प्रमुख सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्न, विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौता सार्वजनिक गर्न, र राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिलाई जेल हाल्ने तथा राज्यको सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया सुरु गर्न मुभमेन्टले सरकारसँग आग्रह गरेको छ। मुभमेन्टले चेतावनी दिँदै भन्यो कि यदि सरकारले तत्काल कदम नचाले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरिनेछ।