ओलीको सम्बोधनमा बत्ती गयो, हलमा हल्ला: "यहाँ पसल–ससल छ कि क्या हो?
काठमाडौं, असोज २९ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ केन्द्रीय समिति बैठकमा सम्बोधन गरिरहेका बेला अचानक बत्ती गएको र त्यसपछि हलमा भएको हल्लाले बैठक अव्यवस्थित बनेको दृश्य देखिएको छ।
बुधबार जावलाखेलस्थित भनिमण्डलको रामबाग महलमा आयोजित बैठकमा ओलीले पार्टी अन्य ‘चटके’ जस्ता नभई सुदृढ र स्थायी भएको भन्दै आन्तरिक एकतामा जोड दिइरहेका थिए। तर त्यहि बेला हल अचानक अन्धकार भयो।
बत्ती गएपछि सहभागीहरू हल्लिन थाले, कोही चिया खान, कोही शौचालयतर्फ लागे। बत्ती फर्किएपछि पनि हलमा गाइँगुइँ रोकिएन। त्यसपछि ओलीले हलको पछिल्लो भागतिर औंला देखाउँदै भने, “हेलो! पछाडि के छ त्यहाँ? केही पसल–ससल छ कि क्या हो?”
ओलीले कार्यक्रम व्यवस्थापकलाई हल्ला भएको स्थानमा पठाइदिए। तर हल्ला नरोकिएपछि उनले स्पष्ट निर्देशन दिए, “प्लिज, यो हलभित्र चाहिँ नबोलौं त।”
त्यसपछि अझ कडारुपमा भने, “आवाज बन्द भयो? त्यता आवाज बन्द भयो साथीहरू? आवाज त्यहाँ बन्द होस् है, कोही पनि नबोल्ने।”
हलमा मिडियाकर्मी र पार्टी कार्यकर्तासमेत उपस्थित रहेकाले ओलीले स्पष्ट भने, “केन्द्रीय सदस्यहरूबाहेक अरू साथीहरू बाहिर जानु भए हुन्छ। र, बोल्न चाहिँ एकदम मनाही छ, ठ्याम्मै।”
हलको अनुशासन कायम गराउन समय खर्चिएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिँदै भने, “म केन्द्रीय कमिटीको यस बैठकमार्फत् सिंगो पार्टीपंक्तिलाई एकताबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्ने भूमिकामा, पार्टीका निर्णय कार्यान्वयनको भूमिकामा प्रस्तुत हुन आग्रह गर्न चाहन्छु…”