माधवकुमार नेपालले दिए एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जाने चुनौती
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन्।
बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्ने नेताहरूलाई केपी ओलीको सामु लम्पसार तयार भएको टिप्पणी गरेका हुन्।
पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाइरहेका थिए।
‘एमालेविरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन,’ उनले भने।
उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए। ‘चुनौती आइरहन्छन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको सामना गरेका थियौं,’ उनले थपे।