ओलीको चेतावनी: "एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्नु"
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट बाहिरिए पनि सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्। केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन्।
उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको आरोप लगाउँदै, सरकारमा रहँदा पार्टीले देश र जनताको हितमा काम गरेको दाबी गरे।
‘हामी सरकारबाट बाहिरियौं, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो,’ उनले भने, ‘तर देशका लागि नेकपा एमाले आवश्यक छ। एकछिन हामी सरकारबाट हट्यौं भनेर सधैंका लागि हट्यौं भन्ने भ्रममा नपर्नु।’
सरकारमा रहँदा कतिपय अवस्थामा आफ्नै पार्टीका नेताहरूबाट समेत आलोचना भएको उल्लेख गर्दै, ओलीले संविधान जारी भएदेखि नै एमालेलाई सरकारमा आउन नदिने प्रपञ्च चल्दै आएको आरोप लगाए।