देउवाको विदेश यात्रा नरोकिने संकेत, पर्याप्त प्रमाण नभेटिएको सरकारी भनाइ
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचार लगायतका लागि विदेश जान खोजे उनलाई नरोक्ने संकेत देखिएको छ ।
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको घरमा ठूलोमा मात्रामा रकम जलेको अवस्थामा भेटिएकोबारेमा अनुसन्धान गर्ने भन्दै यसअघि सरकारले देउवा दम्पत्तिलाई विदेश जान रोक्ने तयारी अघि बढाएको थियो । सोही अनुसार सरकारको संयन्त्रहरुले गृहकार्य समेत गरेका थिए ।
तर सरकारको त्यो तयारीमा अहिले केही फेरिएको छ । देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण समेत अनुसन्धान गर्ने संयन्त्रले नदिएकाले उनको विदेश यात्रामा प्रतिबन्ध लगाई हाल्ने अवस्था नरहेको एक मन्त्रीले बताए ।
‘राज्यका संयन्त्रहरुले प्रतिबन्ध लगाउनुपर्ने भन्दै अहिलेसम्म कुनै परिपत्र गरेका छैनन् । अन्य विविध कारण केलाउँदा पनि अहिले नै रोक्ने उचित कारण दिन समस्या छ’ ती मन्त्रीले अनलाइनखबरसँग भने ।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख (हाल अवकाश) हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको थियो ।
२३ र २४ भदौको घटनाको छानबिन गर्न बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीहरुलाई उपत्यका बाहिर जानु परेपनि प्रशासनको अनुमति लिनुपर्ने र विदेश यात्रा रोक्नु पर्ने भन्दै १२ भदौमा सरकारलाई सिफारिस गरेको थियो । त्यसपछि उनीहरुलाई विदेश जान रोक लगाइएको छ ।
तर देउवाको हकमा भने अहिलेसम्म कुनै पनि संयन्त्रले सरकारलाई यस्तो सिफारिस गरेका छैनन् । जसकारण देउवाको हकमा भने उनी उपचार वा परिवार भेट्ने लगायतका लागि बाहिर जान खोज्दा रोक्ने उचित कारण नभेटिने सरकारी अधिकारीहरुको भनाइ छ ।
देउवा दम्पतीको हकमा विदेश यात्रा रोक्नेबारे कुनै जानकारी हामी कहाँ अहिलेसम्म आएको छैन
जेन–जी आन्दोलन हुँदा कुनै कार्यकारी पद तथा सरकारमा उनी नरहेका, उमेर र स्वास्थ्य जस्ता विषयलाई आधार मान्दै देउवा दम्पतीलाई विदेश जान रोक्न नसकिने बुझाइ छ ।
ओली, लेखकसहित पाँच जनालाई विदेश जान रोक्नेबारे अध्यागमनलाई समेत जानकारी गराइए पनि देउवा दम्पतीको हकमा भने यात्रा रोक्नेबारे कुनै जानकारी नआएको अध्यागमन स्रोत बताउँछ ।
‘देउवा दम्पतीको हकमा विदेश यात्रा रोक्नेबारे कुनै जानकारी हामी कहाँ अहिलेसम्म आएको छैन’ अध्यागमन स्रोतले अनलाइनखबरसँग भन्यो ।
देउवा सम्पत्ति यसअघि पनि उपचारका लागि पटक–पटक विदेश जाने–आउने गर्दै आएका छन् । अहिले पनि उनीहरु उपचारकै लागि भनेर विदेश जाने तयारी रहेको बताइएको छ । स्वास्थ्य उपचारको मामलामा हिरासतमा रहेका व्यक्तिलाई समेत यसअघि छाडिएको थियो ।
१५ चैतमा तीनकुनेमा भएका राजावादी आन्दोलनको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा म्याद थप भएर हिरासत हुँदा समेत उपचारका लागि भनेर सरकारले छाडेको थियो । त्यसपछि उनी भारत पुगेर उपचार गराएर फर्केका थिए ।
जेनजी आन्दोलनको क्रममा देउवा दम्पती माथि पनि आक्रमण भएको थियो । आन्दोलनकारीहरुले उनीमाथि कुटपिट गरेको भिडिओ समेत सार्वजनिक भएको थियो । उनीहरु रक्ताम्य अवस्थामा थिए । त्यसपछि नेपाली सेनाले उद्दार गरेर उनीहरुलाई उपचार गराएको थियो ।
जेनजी आन्दोलनको क्रममा बुढानिलकण्ठस्थित आफ्नो घर जलेपछि देउवा दम्पतीका पासपोर्टहरु पनि जलेका थिए ।
त्यसपछि उनीहरुले ३ असोजमा राहदानी बनाएका थिए । सरकारी बिदाकै दिन पासपोर्ट बनाएकाले उनीहरु तत्कालै विदेश जान लागेको भन्दै टिकाटिप्पणी गरिएको थियो । तर अहिलेसम्म उनीहरु विदेश गएका छैनन् । घटनाको ३४ दिनपछि उनीहरु सार्वजनिक भएका थिए ।
यता देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणमाथि भने अनुसन्धान जारी रहेको बताइएको छ । ५ असोजमा देउवाको बुढानिलकण्ठस्थित निवासमा पुगेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले मुचुल्का गरेर फर्केको थियो ।
हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बूढानीलकण्ठस्थित देउवा र कांग्रेस नेता दीपक खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो ।
जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनीहरूको घर जलेको थियो । जलेको उक्त घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो ।
यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।
देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ । अहिले आन्तरिक रुपमा अनुसन्धान अघि बढाएको छ । तर यो अनुसन्धान निकै गाह्रो रहेको अनुसन्धान अधिृकतहरु बताउँछन् ।
देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ ।
जलेका केही टुक्रा रकम भेटिए पनि त्यहाँ कति पैसा थिए भन्ने केही यकिन गर्न सकिएको छैन । जसकारण यो मुद्दाको अनुसन्धान निकै जटिल रहेको विभाग स्रोत बताउँछ ।
यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देउवाका सालो तथा आरजु राणाका भाइ भूषण राणाको जावलाखेलपस्थित घरमा १३ असोजमा छापा मारेको थियो । केही महत्वपूर्ण कागजात तथा प्रमाणहरु फेला पर्ने आशंका गरेर सीआईबीले छापा मारेको थियो । तर केही कागजात बरामद भए पनि त्यसबाट कुनै ठूलो संकेत फेला पर्ने अवस्था नरहेको सीआईबीका अधिकारीहरु बताउँछन् ।
त्यसै दिन सीआईबीले देउवाका सासु–ससुरा बस्ने घरमा पनि छापा मारेको थियो । छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । अनुसन्धान गर्ने यी दुबै निकायले अहिलेसम्म विदेश यात्रा रोक्का गरेर अनुसन्धान गर्नुभन्दै सरकारलाई सिफारिस गरेका छैनन् ।