ओलीको आरोप: "भदौ २३ र २४ को घटना देश सिद्ध्याउने योजनाअनुसार भयो
काठमाडौं, असोज २९ –नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको हिंसात्मक घटनालाई सुनियोजित षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त घटना अहिलेको संविधान, लोकतान्त्रिक व्यवस्था र राज्य संयन्त्रलाई असफल बनाउन र देशलाई अस्थिरतातर्फ धकेल्न योजना अनुसार गराइएको बताएका हुन्।
ओलीले केही समूहले वर्षौँअगाडिदेखि ‘व्यवस्था मान्दैनौं, संसदीय प्रणाली चाहिँदैन, पूरै फेर्नुपर्छ’ भन्ने भन्दै आएको र ती विचारधाराले नै भदौ २३ र २४ को घटना गराएको आरोप लगाए।
“सिंहदरबार जलाउँछौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौं भनेकै हो। चैत १५ मा पनि त्यही तर्फ गएकै हुन्,” ओलीले भने।
उनले सार्वजनिक सम्पत्ति, घर, उद्योगधन्दा जलाउने, प्रहरीका बर्दी र हतियार खोस्नेजस्ता गतिविधिलाई राष्ट्रवादी आन्दोलनमाथिको हमला भनेका छन्। “नेपालको संस्कृति, संस्कार, गौरव मन नपराउने, बाहिरबाट पालित-पोषित शक्तिले यस्ता गतिविधि गरिरहेका छन्,” उनले आरोप लगाए।
भदौको आन्दोलनसँग जेन-जी (जनमत र नागरिक समाज) का माग जोडिएको भन्ने प्रचारप्रति ओलीले असहमति जनाए। उनले जेन-जीको माग भ्रष्टाचार नियन्त्रण, सुशासन र बन्द सामाजिक सञ्जाल खोल्ने विषयसँग मात्र सम्बन्धित रहेको स्पष्ट गरे।
ओलीले उक्त घटना पूर्वानुमान नगरिएको स्वीकार गर्दै, त्यो दिन त्यस तहको घटना हुन्छ भन्ने सोचेको नभएकाले तयारी गर्न नसकिएको बताए। तर उनले राज्य संयन्त्र प्रभावकारी भएको भए रोक्न सकिने पनि तर्क गरे। “उनीहरू प्रयास त गरिरहेका थिए, तर हामी त्यसलाई रोक्छौं भन्ने थियो। राज्य संयन्त्रबाट रोक्न सकिन्थ्यो, तर सकिएन,” उनले भने।
ओलीले एमाले अझै पनि सहज अवस्थामा नरहेको र पार्टीले धेरै चुनौतीहरूको बीचमा अग्रसरता लिनुपर्ने बाध्यता रहेको उल्लेख गरे। लोकतन्त्र स्थापनाका लागि भएको संघर्ष र वर्तमान कठिनाइबीच एमाले अगाडि बढिरहेको उनले बताए।