किरणको राजीनामा, गजुरेल महासचिव नियुक्त
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन्। शनिबार राति अबेर सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको पार्टी नेता हुकुम सिंहले जानकारी दिएका छन्।
स्वास्थ्य अवस्थाका कारण आफूले पदबाट जिम्मेवारी बहन गर्न नसक्ने भन्दै किरणले राजीनामा दिएको सिंहले बताएका छन्। "किरणले शारीरिक रूपमा काम गर्न नसक्ने जानकारी भर्चुअल माध्यमबाट दिनुभयो," सिंहले भने।
बैठकले वैद्यको स्थानमा वरिष्ठ नेता **चन्द्रप्रकाश (सीपी) गजुरेललाई नयाँ महासचिवमा नियुक्त** गरेको छ। गजुरेल यसअघि वैद्यको अनुपस्थितिमा कार्यवाहक महासचिवको भूमिकामा सक्रिय थिए।
किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रूपमा महासचिव नियुक्त भएका थिए। दम र निमोनियाबाट पीडित वैद्य पछिल्ला केही महिनायता स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुँदै आएका थिए।
पार्टीले वैद्यलाई अब संरक्षकको भूमिकामा रहने जनाएको छ। सिंहका अनुसार वैद्य अब पार्टीको वैचारिक तथा सैद्धान्तिक मार्गदर्शकको भूमिकामा रहनेछन्।
यसैबीच, केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।